काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १४ किलो थाई गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४६ वर्षीय शबाना बानु यार महम्मद शेख र ३५ वर्षीय शरिफ अब्बास अन्सारी रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुबास बोहराका अनुसार उनीहरूको साथबाट १४ किलो थाई गाँजा बरामद गरिएको छ।
प्रहरीका अनुसार दुवै जना थाइल्यान्डबाट मलेसिया हुँदै बाटिक एयरको उडानमार्फत काठमाडौँ आएका थिए। बाटिक एयरको उडान नम्बर ओडी–१८२ बाट आएका उनीहरूमाथि शङ्का लागेपछि ब्यूरोको टोलीले जाँच गरेको थियो।
पक्राउ परेका दुवै जनामाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको एसएसपी बोहराले जानकारी दिएका छन्।