म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकामा व्यावसायिक मौरीपालनमार्फत रोजगारी सिर्जना र किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले एक करोड रुपैयाँको परियोजना सञ्चालन हुने भएको छ ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत मङ्गला गाउँपालिकाले प्रस्ताव गरेको परियोजना स्वीकृत भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत दाहालका अनुसार प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालन गर्न लागिएको हो । परियोजनाका लागि प्रदेश सरकारले ७० लाख र गाउँपालिकाले ३० लाख रुपैयाँ लगानी गर्नेछ ।
दाहालले व्यावसायिक मौरीपालनलाई प्रवर्द्धन गर्दै स्थानीयस्तरमै रोजगारी सिर्जना र किसानको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य राखिएको बताए । परियोजनामार्फत किसानलाई मौरीपालनसम्बन्धी प्रविधि, ज्ञान र सीप प्रदान गरिनेछ ।
गाउँपालिकाका अनुसार सम्झौता सम्पन्न भएपछि चालु आर्थिक वर्षभित्रै परियोजना कार्यान्वयन गरिनेछ । मध्यपहाडी क्षेत्रमा अवस्थित मङ्गलाका कुहुँ, पूर्णगाउँ, बरङ्जा, अर्मन र बाबियाचौरमा परम्परागत रूपमा मौरीपालन हुँदै आएको छ ।
मौरीपालनमा संलग्न किसानलाई थप प्रोत्साहन गर्नुका साथै नयाँ किसानलाई यस व्यवसायमा आकर्षित गर्न परियोजना ल्याइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
मङ्गला गाउँपालिका–३ बरङ्जाका मौरीपालक तथा संविधानसभा सदस्य गमबहादुर श्रीसले परियोजनाले मौरीपालनमा संलग्न किसानलाई उत्साहित बनाएको बताए ।
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत मङ्गलासहित गण्डकी प्रदेशका ११ स्थानीय तहका विभिन्न परियोजना स्वीकृत भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गोरखाको पालुङटार नगरपालिकामा गरिबी निवारणका लागि एकीकृत कृषि तथा पशुपन्छी विकास र आरुघाट गाउँपालिकामा कृषकको आर्थिकस्तर सुधारका लागि बाख्रा विकास परियोजना छनोट भएका छन् ।
त्यस्तै, तनहुँको घिरिङ गाउँपालिकामा बाँझो जग्गामा मसलाजन्य वस्तु उत्पादन तथा व्यास नगरपालिकामा उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ (बेनीकोट कृषि तथा पर्यटन प्रवर्द्धन) परियोजना स्वीकृत भएका छन् ।
स्याङ्जाको फेदीखोला गाउँपालिकामा डिजिटल लर्निङ प्रविधि, कास्कीको रूपा गाउँपालिकामा कम लागतमा दूध उत्पादन, पर्वतको पैयुँ गाउँपालिकामा महिला नेतृत्वमा हाईटेक टनेल तथा स्मार्ट कृषि बजार व्यवस्थापन परियोजना छनोट भएका छन् ।
यसैगरी, बागलुङ नगरपालिकामा एकीकृत क्युआर इ–हाउसिङ, डाटा सेन्टर तथा सामाजिक आर्थिक सूचना प्रणाली, काठेखोला गाउँपालिकामा विद्यार्थीकेन्द्रित विद्यालय फलफूल बगैँचा कार्यक्रम र बडिगाड गाउँपालिकामा कार्यालय डिजिटलाइजेसन परियोजना सञ्चालन हुनेछन् ।