समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारहरूलाई नियन्त्रणमा लिने र सञ्चार गृहमा सादा पोशाकका प्रहरी खटाउनुका पछाडि प्रधानमन्त्री वालेन्द्र शाहको कार्यालयको चासो रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।
सुरक्षा बिट हेर्न पत्रकारलाई सूचना दिनका लागि बनाइएको ह्वाट्सएप ग्रुपमा नेपाल प्रहरीले उक्त जानकारी दिएको छ । जसमा भनिएको छ, ‘हालका दिनहरूमा नेपाल प्रहरी विरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारण प्रतिको विश्वास,सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धान लगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादन अन्तर्गतको सही मनसाय हो।’
नेपाल प्रहरीको साइबर ब्युरोले शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलगायतलाई पक्राउ गरेको थियो । नयाँ पत्रिकामा पुगेर पत्रकार नवराज सुवेदीलाई पक्राउ गर्न खोजेको थियो। अन्य पत्रकारहरुलाई पनि पक्राउ गर्न मिडियाका समाचार कक्षमा प्रहरी पुगेका थिए ।
पत्रकारप्रति प्रहरीको नकरात्मक भावना नभए पनि प्रधानमन्त्री कार्यालयको चासोले त्यस्तो गर्नुपरेको प्रहरीको भनाइ छ । ‘राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ’ प्रहरीले भनेको छ ।
पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरी प्रवेश गर्नुका पछाडि प्रधानमन्त्री कार्यालय संलग्न नरहेको शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दाहालले बताएकी थिइन्। उनले सामाजिक संजालमा लेखेकी थिइन्, ‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन्छ ।’
पत्रकार पक्राउ गरेको घटनाबारे जानकारी पाउने बित्तिकै रिहाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिएको पनि दाहालको भनाइ थियो। ‘उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ’ दाहालले फेसबुकमा लेखेकी थिइन।