काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूसँग जोडिएका आर्थिक अनियमितता वा गैरकानुनी कामको प्रमाण भए पक्राउ गरेर देखाउन नेपाल प्रहरीलाई चुनौती दिएका छन्।
बुधबार सिंहदरबारमा निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले आफूविरुद्ध प्रमाण भए निष्पक्ष छानबिन गरी कारबाही गर्न चुनौती दिए।
उनले भने, ‘मेरो चुनौती सीआईबीलाई पनि छ, यदि मसँग जोडिएका विषयमा कुनै गैरकानूनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण छ भने निष्पक्ष रूपमा छानबिन गरेर सार्वजनिक गरियोस्।’
उनले आफू छानबिनबाट नभाग्ने र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको बताए। अनुसन्धानका नाममा व्यक्तिलाई धम्क्याउने, निजी नम्बरबाट फोन गरी बोलाउने वा दबाब दिने काम भए त्यसको समेत छानबिन हुनुपर्ने उनको भनाइ छ।
प्रहरी अनुसन्धान निष्पक्ष, पारदर्शी र कानुनसम्मत हुनुपर्ने बताउँदै सुनारले प्रमाण भए कारबाही गर्न र प्रमाण नभए आरोप तथा दबाबको राजनीति बन्द गर्न आग्रह गरे। प्रहरी संगठनभित्रै गैरकानुनी काम भएको प्रमाण भेटिए त्यसमा पनि निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने उनले बताए।
राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त राख्नु सबैको जिम्मेवारी भएको सुनारको भनाइ छ।