कास्की । विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको छ। बाढीपहिरोका कारण प्रभावित सडक तथा पदमार्ग सञ्चालनमा आएसँगै अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको आगमन बढेको हो।
निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनुका साथै मनाङ र मनास्लु क्षेत्रका कतिपय पदयात्रा मार्ग पहिरोका कारण प्रभावित भएपछि पर्यटकको रोजाइ अन्नपूर्ण आधार शिविरतर्फ बढेको पर्यटन व्यवसायीले बताएका छन्।
छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक करिब ३०० पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। उनका अनुसार स्वदेशी पर्यटकको सङ्ख्या भने न्यून रहे पनि विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन बढेको छ।
एबिसीमा पर्यटकलाई राख्न ६ वटा होटल तथा लज सञ्चालनमा छन्। ती होटल तथा लजमा एकैपटक करिब ३५० पर्यटक राख्न सकिने क्षमता रहेको गुरुङले बताए।
यसअघि निरन्तरको वर्षा, बाढी र पहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न सडक तथा पदमार्ग अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको थियो। अन्नपूर्ण क्षेत्रको बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाले सडक कटान गरेपछि लामो समय यातायात अवरुद्ध भएको थियो। गाउँपालिकाले करिब डेढ महिनाको प्रयासपछि असोजको पहिलो साता उक्त सडक सञ्चालनमा ल्याएको हो।
मनाङ र मनास्लु क्षेत्रतर्फ जाने कतिपय सडक तथा पदमार्ग अझै पनि पहिरोका कारण प्रभावित रहेकाले त्यसतर्फ जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबिसी रोज्न थालेका हुन्।
‘मनाङ, मनास्लु र अन्नपूर्ण क्षेत्रमध्ये अन्नपूर्ण आधार शिविरतर्फको बाटो तुलनात्मक रूपमा सहज छ। त्यसकारण दक्षिण एसियाली मुलुकका पर्यटकको रोजाइ एबिसीतर्फ बढेको हो,’ गुरुङले भने, ‘दसैँ सुरु भएपछि नेपाली पर्यटकको आगमन पनि बढ्ने अपेक्षा गरेका छौँ।’
अन्नपूर्ण क्षेत्रमा अवरुद्ध सडक सञ्चालनमा आएपछि पोखराबाट पदयात्राको सुरुआती बिन्दुसम्म पुग्नसमेत सहज भएको छ। अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार पोखरादेखि घान्द्रुक हुँदै एबिसीसम्मका सबै सडक सञ्चालनमा छन्।
उनका अनुसार बिरेठाँटी र स्याउली बजारको सडक खुलेपछि घान्द्रुकभन्दा माथिको क्षेत्र पनि सहज बनेको छ। नयाँपुल, घान्द्रुक र छोम्रोङ हुँदै एबिसी पुग्ने सडक तथा पदमार्ग सञ्चालनमा रहेको उनले बताए।
यसैगरी, दुई महिनाअघि किम्रुङखोलाले पक्की झोलुङ्गे पुल बगाएपछि अवरुद्ध भएको पदमार्गमा काठे फड्के निर्माण गरेर पुनः सञ्चालनमा ल्याइएको छ।
समुद्री सतहबाट करिब ४ हजार १३० मिटरको उचाइमा रहेको एबिसीबाट अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रे हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ। हिमालको काखबाट सूर्योदयको दृश्य, स्थानीय संस्कृति र जीवनशैली तथा हिमाली भू–दृश्यको अनुभव गर्न पाइने भएकाले एबिसी विश्वका चर्चित पदयात्रा गन्तव्यमध्ये एक मानिन्छ।
पदयात्राका क्रममा पर्यटकले गुरुङ समुदायको संस्कृति, हिमाली गाउँबस्ती, हरियाली वन, झरना, खोलानाला तथा हिमाली प्राकृतिक दृश्यको अवलोकन गर्न पाउँछन्। माछापुच्छ्रे बेस क्याम्प हुँदै एबिसी पुग्ने पदमार्ग यस क्षेत्रको प्रमुख आकर्षण हो। यस क्रममा माछापुच्छ्रे, अन्नपूर्ण साउथ र अन्नपूर्ण प्रथमलगायत हिमाल नजिकबाट देख्न सकिन्छ।
पर्यटकको आगमन बढेसँगै गाउँपालिकाले पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ। केन्द्रबाट एबिसी तथा माछापुच्छ्रे बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक र स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा तत्काल प्राथमिक उपचार सेवा उपलब्ध गराइनेछ।
उच्च उचाइका कारण लेक लाग्ने, बिरामी पर्ने तथा गम्भीर अवस्थामा ज्यानसमेत जाने घटना हुने गरेकाले प्राथमिक उपचार केन्द्र सञ्चालनमा आएपछि पदयात्रीलाई थप सहज हुने अपेक्षा गरिएको छ।