काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे जानकारी गराएका छन्। उनले बाढीपछि बेपत्ता भएका विदेशी नागरिकको खोजीका लागि भइरहेका प्रयासबारे पनि प्रधानमन्त्री लक्सनलाई अवगत गराएका छन्।
प्रधानमन्त्री शाहले पाँच जना न्युजिल्यान्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। साथै, नेपाललाई न्युजिल्यान्ड सरकारले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहयोगप्रति उनले आभार व्यक्त गरेका छन्।
जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा क्षति तथा नोक्सानीका लागि आवश्यक वित्तीय सहयोग जुटाउने प्रयासमा न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोगका लागि आग्रह गरेका छन्।
वार्ताका क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपालमा आएको विनाशकारी बाढीप्रति न्युजिल्यान्ड सरकार तथा जनताको तर्फबाट गहिरो समवेदना व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन्।