सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा विच वार्ता सहमतिमा पुगेपछि महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ ।
हिजो मात्रै सरकारसँग ३ बुँदे सहमति पछी आज प्रधानमन्त्री ओली र नेत्र विक्रम चन्द विप्लवले काठमाडौंमा एउटै मंचबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तीन वर्षसम्म भूमिगत भएका विप्लव आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सार्वजनिक हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनले सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लवले हस्ताक्षर गर्ने छन् ।
सरकारसँगको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । साथै सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ भने पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको प्रक्रिया अघि बढाएको छ ।
उनले बिहीबार बेलुकी साढे ११ बजे देवचुली नगरपालिका–१२ गैडीस्थित सहिद फूलमाया सारु मगरको परिवारलाई भेटेका थिए । त्यहाँबाट उनी बिहान ५ बजे काठमाडौंतिर लागेका छन् । उनीसँगै अर्का नेता बालानन्द कीर्ति र पार्टीका कार्यकर्ताहरू पनि छन् । चन्द प्रहरीको एस्कर्टिङमा काठमाडौंतर्फ लागेका हुन् ।
उनी प्रहरी स्कर्टिङमा देबचुलीबाट काठमाडौँ हिँडेका छन् । उनलाई कार्यकर्ताले रातो टीका लगाएर बिधाई गरेका छन् ।
विप्लव समूहसँगको सहमतिपछि २०७५ फागुन २८ देखि लगाइएको प्रतिबन्ध बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हटाउने निर्णय गरेको थियो।
उनी काठमाडौं बाहिर भएकाले शुक्रबार हुने कार्यक्रमको सम्बोधनका लागि ल्याउन सरकारले हेलिकोप्टर स्टान्डबाई राखेको थियो । हेलिकोप्टरमा चढ्दा जनमानसमा राम्रो सन्देश नजाने भएकाले पार्टीले व्यवस्था गरेको गाडीमै विप्लव काठमाडौं आउँदै गरेको विप्लव निकट स्रोत बताउँछ ।
विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको सहमतिअनुसार शुक्रबार प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा सम्बोधनका लागि उपस्थित हुँदैछन् । गृहमन्त्रीले ‘विप्लव’ लाई हेलिकप्टरबाट काठमाडौं ल्याउने प्रस्ताव राखेपछि उनले पार्टीमा सल्लाह गरेर नचढ्ने निष्कर्षमा पुगेको बताइएको छ।
विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । तर, पार्टीनिकट सञ्चारमाध्यमलाई भने उनले अन्तर्वार्ता दिँदै आएका थिए । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।
तत्कालिन माओवादी शान्ति वार्तामा आउँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईलगायतका नेताहरु २०६३ साल असार २ गते हेलिकप्टरबाटै कास्कीको सिकलेसबाट काठमाडौं आएका थिए। गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग प्रचण्ड र बाबुरामसहितका नेताहरु हेलिकप्टरबाटै बालुवाटारमा सार्वजनिक भएका थिए। एउटै ‘ड्रेस कोड’ र ‘हेयर स्टाईल’मा प्रचण्ड र बाबुरामसहितका नेताहरु सार्वजनिक भएका थिए।