काठमाडौं । रास्वपाका वालेन्द्र शाह नेतृत्वको सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा दिएको अभिव्यक्तिलाई लिएर आलोचना सुरु भएको छ।
पूर्वपरराष्ट्रमन्त्री कमल थापाले अर्थमन्त्री वाग्लेले दिल्लीमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका हुन्। वाग्लेले नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकिएको अभिव्यक्ति दिएका थिए।
मन्त्री वाग्लेको उक्त अभिव्यक्ति गैरजिम्मेवार रहेको पूर्वपरराष्ट्रमन्त्री थापाले बताएका छन्। ‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो,’ थापाले भनेका छन्, ‘नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन। विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ।’
वाग्लेको धारणा पूर्वग्रही र गैरजिम्मेवार रहेको थापाको भनाइ छ। ‘सानो समूहको केही अपवादमुलक धारणालाई लिएर सिङ्गो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु उहाँको पूर्वाग्रही चस्माको उपज हो। नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित छ,’ थापाले भनेका छन्।
नेपालले भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहेको थापाको भनाइ छ। ‘तर सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो,’ थापाले प्रश्न गरेका छन्, ‘के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन्? वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मुनरो डक्ट्रिन’ कै उपज त होइन?’
यी प्रश्नको जवाफ सरकारबाट आउनुपर्ने थापाले बताएका छन्। उनले वाग्लेको जस्तै धारणा सरकारको पनि हो? भनेर प्रश्न गरेका छन्।