मुस्ताङ । यस वर्षको बडादसैँलाई लक्षित गरी मुस्ताङ हुँदै करिब ३५ करोड रुपैयाँ मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएका छन्। कृषि तथा पशु विकास कार्यालयका अनुसार यस वर्ष मुस्ताङको बाटो भएर १३ हजार २७९ भेडा तथा च्याङ्ग्रा बिक्रीका लागि बेँसी झारिएको हो।
कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार निकासी भएका पशुमध्ये ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ भेडा छन्। मुस्ताङबाट २२ करोड रुपैयाँभन्दा बढी तथा कर्णाली प्रदेशका डोल्पा, मुगु र जुम्लाबाट १३ करोड रुपैयाँ बराबरका भेडा, च्याङ्ग्रा र च्यालु (माउ) यही मार्ग हुँदै निकासी भएका हुन्।
कार्यालयका अनुसार मुस्ताङबाट मात्रै सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा निकासी भएका छन्। मुस्ताङका किसानले पालेका खोरपाला तथा तिब्बतबाट कोरलानाका हुँदै भित्र्याइएका ४०० भन्दा बढी भेडा–च्याङ्ग्रा स्थानीय व्यापारीले पोखरा र काठमाडौँलगायतका बजारमा बिक्रीका लागि पठाएका छन्।
यसैगरी, डोल्पाबाट दुई हजार ६८० च्याङ्ग्रा र ८७१ भेडा, जुम्लाबाट ३०० च्याङ्ग्रा तथा मुगुबाट ३२० च्याङ्ग्रा र ४० भेडा निकासी भएका छन्।
कार्यालयका अनुसार यस वर्ष निकासीका क्रममा च्याङ्ग्राको औसत मूल्य प्रतिगोटा ३३ हजार रुपैयाँ, भेडाको २२ हजार रुपैयाँ र च्यालु (माउ)को १० हजार रुपैयाँ कायम गरिएको थियो। दसैँका बेला मासुको माग बढ्ने भएकाले हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा विभिन्न बजारमा ल्याउने गरिन्छ।