रसुवा । भोटेकोशी बाढीले क्षति पुर्याएको पुलको विकल्पमा स्याफ्रुबेँसीमा सवारीसाधन आवतजावत गर्न मिल्ने बेलिब्रिज निर्माण तीव्र गतिमा अघि बढाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा निर्माण कार्यलाई गति दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले शनिबार स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माण कार्यको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले जिल्ला सदरमुकाम धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएपछि उक्त स्थानमा नयाँ बेलिब्रिज जडान गर्न लागिएको हो । बेलिब्रिज निर्माणका लागि आवश्यक जग तयार पार्ने काम सुरु भइसकेको छ ।
निर्माण कार्य आगामी तिहारअघि नै सम्पन्न गरी बेलिब्रिज सञ्चालनमा ल्याउने लक्ष्यसहित चौबिसै घण्टा काम भइरहेको जनाइएको छ । बेलिब्रिज सञ्चालनमा आएपछि स्याफ्रुबेँसी क्षेत्रमा सवारीसाधन आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।
यसैगरी, बाढीका कारण आवतजावतमा समस्या उत्पन्न भएपछि स्याफ्रुबेँसी–बृद्धिम जोड्ने फड्के पुल निर्माणको काम पनि अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालयले उक्त पुल निर्माणका लागि आवश्यक फलामको लट्ठा (स्टिल केबल) लगायतका सामग्री उपलब्ध गराएको छ ।
निर्माण सामग्री उपलब्ध भएसँगै स्थानीय बासिन्दाको आवतजावत सहज बनाउने उद्देश्यले फड्के पुल निर्माणलाई पनि सँगसँगै अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।