भक्तपुर। राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाका अवसरमा आज भक्तपुरस्थित नवदुर्गा मन्दिरमा विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन्।
प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले सङ्कल्प पूजा गराएका थिए। उनले नवदुर्गाका देवगणका मूर्ति अवलोकन गरी दर्शनसमेत गरेका थिए।
नवदुर्गाका मूल नाइके इन्द्रबहादुर वनमालाले राष्ट्रपतिलाई जमरा, टीका, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रसादस्वरूप प्रदान गरेका थिए। राष्ट्रपति पौडेलले नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई दक्षिणासमेत दिएका थिए।
यस अवसरमा बागमती प्रदेश सरकारले भक्तपुरको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँ प्रदान गरेको छ। प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संस्थालाई रकम प्रदान गरेका थिए भने राष्ट्रपति पौडेलले सम्मानपत्र हस्तान्तरण गरेका थिए।
नवदुर्गा जात्रा सञ्चालनमा हरेक वर्ष आर्थिक कठिनाइ हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले जात्रा संरक्षणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए।
नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाका अनुसार २०४५ सालको भूकम्पपछि दैवीप्रकोपबाट देश र जनताको हित तथा कल्याणका लागि तत्कालीन राष्ट्रप्रमुखले यो पूजाअर्चनालाई निरन्तरता दिन थालेका हुन्।
नवदुर्गाअन्तर्गत ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ।