काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पुनले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय संयन्त्र गठन गर्ने दलहरूबीच सहमति भइसकेकाले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए।
उहाँले तत्काल उद्धार तथा राहतसँगै विपद्पछिको दीर्घकालीन पुनःस्थापना र विपद् व्यवस्थापनका लागि स्पष्ट रणनीति आवश्यक रहेको उल्लेख गर्नुभयो। बाढीका कारण जलविद्युत् आयोजना, सुरुङ तथा विद्युत्गृहमा फसेकाहरूको यथाशीघ्र खोजी तथा उद्धार गर्न र राहत वितरणलाई प्रभावकारी एवं न्यायोचित बनाउन उहाँले सभामुखमार्फत सरकारसँग आग्रह गर्नुभयो।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले राष्ट्रिय हिमालयन जलवायु तथा विपद् कोष स्थापना गर्न, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन तथा हिमाली क्षेत्रको नियमित अनुगमन र अध्ययन गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी प्रभावित क्षेत्रमा अझै केही मानिस सुरुङभित्र फसेको हुनसक्ने भन्दै तत्काल उद्धार टोली परिचालन गर्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गर्दै उद्धार कार्यमा विज्ञहरूको सुझाव लिनुपर्ने बताए।
श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले विपद्बाट भएको क्षतिलाई जलवायु न्यायको विषयसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने धारणा राख्नुभयो। उहाँले विपद्को समयमा राष्ट्रिय एकता, सहयोग र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिए।