कांग्रेसका सहमहामन्त्री सहमहामन्त्री रामहरि खतिवडाले हरेक वर्षझैँ यस वर्ष पनि बडादसैंको अवसरमा ओखलढुंगा कारागारका कैदीबन्दीहरूका लागि खसी सहयोग गरेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका खतिवडा सभापति गगन थापाको शपथ ग्रहण लगायतका काम भएकाले आफैं भने ओखलढुंगा पुग्न सकेनन् ।
खतिवडाले शनिबार प्रतिनिधिका रूपमा कांग्रेस पार्टीका ओखलढुंगा जिल्ला समिति प्रवक्ता प्रदिप वानिय, जिल्ला सदस्य योगेश्वर अधिकारी, हेमराज राई, प्रकाश दाहाल, मानेभञ्ज्याङ सभापति हुकुम राई र मानेभञ्ज्याङ-०६, वडा सभापति गन्जुराम राई लगायत नेताहरूले कारागारमै हस्तान्तरण गरेका थिए ।
चाडपर्वको समयमा कारागारमा रहेका कैदीबन्दीहरूसँग खुसी साटासाट गर्ने तथा उनीहरूमा आत्मीयता, सद्भाव र मानवीय भावनाको विकास गर्ने उद्देश्यले खतिवडाले हरेक वर्ष ओखलढुंगा कारागारका कैदीलाई खसी सहयोग गर्दै आएका छन् ।
खतिवडाको यस मानवीय तथा सामाजिक सेवाभावले चाडपर्व सबैका लागि खुसी, सद्भाव र आत्मीयता बाँड्ने अवसर हुनुपर्छ भन्ने सन्देश दिएको छ । समाजका हरेक वर्ग र समुदायप्रति सद्भाव राख्दै मानवीय सेवामा निरन्तर जोड दिँदै आएका खतिवडाको यस कार्यलाई सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलताको उदाहरणका रूपमा लिन सकिन्छ नेपाली कांग्रेस मानेभञ्ज्याङ गाउँपालिका सभापति हुकुमसिंह राईले बताए ।