काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो प्रभावितको उद्धार तथा राहत वितरणका लागि छुट्टै संयन्त्र नबनाई सरकारकै संयन्त्रमार्फत सहयोग गर्ने निर्णय गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समसामयिक परिस्थिति र विपद् व्यवस्थापनबारे छलफल गर्दै सरकारी प्रयासलाई प्रभावकारी बनाउन सहयोग गर्ने निष्कर्ष निकालेको हो।
सचिवालय सदस्य लिमा अधिकारीका अनुसार बैठकमा करिब डेढ घण्टा विपद् व्यवस्थापन र राहत वितरणका विषयमा छलफल भएको थियो। पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणालीमार्फत प्रभावितसम्म पुर्याउने तयारी गरिएको उनले बताइन्।
उनका अनुसार काठमाडौँमा सरकारले तोकेका चारवटा स्थानमा राहत सामग्री बुझाएर सरकारसँग समन्वय गरी वितरणको काम अघि बढाइनेछ।
उद्धार तथा तत्कालीन राहत वितरणको चरण सकिएपछि रास्वपाका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरूबाट आफन्त तथा घरपरिवार गुमाएका पीडितको घरदैलोमा पुगेर सहयोग गर्ने योजना पनि बनाइएको छ। सर्वदलीय बैठकमा भएको सहमतिअनुसार प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरणमा पार्टीले सरकारलाई सघाउने अधिकारीले बताइन्।
बैठकले विपद्बाट बेसहारा बनेका नागरिकलाई सरकार आफ्नो साथमा रहेको अनुभूति हुने गरी प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएको छ। बैठकमा सरकारले बाढीपहिरो तथा अन्य विपद्का समयमा गरिरहेका कामबारे अर्थमन्त्रीले जानकारी गराएका थिए।
यसैबीच, सभापतिबाट मनोनित पदाधिकारी तथा सचिवालय सदस्यलाई बैठकमा शपथ ग्रहण गराइएको छ। बाँकी पदाधिकारीका विषयमा भने बैठकमा छलफल नभएको अधिकारीले जानकारी दिइन्।
बैठकमा पार्टीका आन्तरिक प्राविधिक विषय, पदाधिकारीको जिम्मेवारी हेरफेर, प्राविधिक मिलान तथा नयाँ प्रवक्ता चयनलगायत विषयमा समेत सामान्य छलफल भएको जनाइएको छ।