काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान १० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बैठक बस्न लागेको हो।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा रसुवा बाढी, पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण तथा आगामी कार्ययोजना लगायत विषयमा छलफल हुनेछ।
विशेषगरी रसुवा बाढीपछि जारी उद्धार तथा राहत अभियानका विषयमा पार्टीले ठोस निर्णय गर्ने तयारी गरेको बताइएको छ। बैठकले विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पार्टीको आगामी भूमिकाबारे समेत आवश्यक निर्णय गर्ने जनाइएको छ।