काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले बाढीपहिरोपछि उद्धार, राहत र बेपत्ताको खोजीमा सरकारले प्रभावकारी नेतृत्व दिन नसकेको आरोप लगाउँदै सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।
बुधबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै महरले राजनीतिक दल, नागरिक समाज र तीनै तहका सरकारको सहयोग लिन प्रधानमन्त्री चुकेको बताए । संकटका बेला अहंकार र दम्भ त्यागेर राष्ट्रिय एकतासहित अघि बढ्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्रीले सुरुङभित्रको हिलो हटाउने मेसिन संसारमै नभएको बताएको प्रसंग उल्लेख गर्दै महरले उक्त दाबी तर्कसंगत नभएको बताए । बाढी आउनुअघि एसएमएस पठाइएको सरकारी दाबीमाथि पनि उनले प्रश्न उठाए ।
‘प्रधानमन्त्रीले हिलोमा खोज्ने मेसिन संसारमा कतै पाइँदैन भन्नुभयो, जुन तर्कसंगत छैन,’ महरले भने ।
मन्त्रीहरू उद्धारस्थल पुगेर फोटो खिचाउन व्यस्त भएको आरोप लगाउँदै उनले वास्तविक उद्धारका लागि विज्ञ तथा प्राविधिक परिचालन गर्नुपर्ने बताए । विपद्लाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई पीडितको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने उनले बताए ।