काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिलाई राष्ट्रिय संकट घोषणा गरी उद्धार, राहत र पुनःस्थापनालाई तीव्रता दिन सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले उद्धारमा सरकारी समन्वय फितलो भएको भन्दै राजनीतिक प्रदर्शनभन्दा प्राविधिक दक्षता र मानवीय संवेदनशीलतालाई प्राथमिकता दिनुपर्ने बताए । घाइतेको निःशुल्क उपचार र बेपत्ताको खोजी तीव्र बनाउन तथा क्षतविक्षत शवको पहिचानका लागि आधुनिक प्रविधि र डीएनए परीक्षणको व्यवस्था गर्न उनले माग गरे ।
राहत वितरणमा एकद्वार प्रणालीका नाममा सामग्री थन्क्याएर राखिएको र इच्छुक दातालाई समेत सहयोग गर्न रोकिएको टिप्पणी गर्दै उनले राहत प्रभावितको हातसम्म पुग्ने व्यवस्था गर्न आग्रह गरे ।
‘यो राहत रोक्ने होइन, ढोका खोल्ने बेला हो । जसलाई राहत चाहिएको छ, उसको हातसम्म पुग्ने व्यवस्था गरियोस्,’ राईले भने ।
बाढीलाई जलवायु परिवर्तनको असरका रूपमा व्याख्या गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दा उठाउन र ‘हानि तथा क्षति कोष’बाट आर्थिक तथा प्राविधिक सहयोग जुटाउन कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरे ।
भविष्यमा यस्ता विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणाली विस्तार र प्रकृतिमैत्री विकासको मोडेल अपनाउनुपर्ने राईले बताए । संकटको घडीमा आफ्नो पार्टी सरकारको साथमा रहेको पनि उनले स्पष्ट पारे ।