काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्को समयमा प्रचारबाजीभन्दा नागरिकको जीवनरक्षा र प्रभावकारी खोज तथा उद्धारमा केन्द्रित हुन सरकारलाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले रसुवामा बाढी आएको एक साता बितिसक्दा पनि प्रभावितको खोज तथा उद्धार प्रभावकारी हुन नसकेको बताए । अझै ६२ जिल्लाका ३ हजार ९ सय १६ जना नागरिक सम्पर्कविहीन रहेको विवरण आएको भन्दै उनले संख्या बढ्न सक्ने बताए ।
सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ गम्भीर र अमानवीय भएको उनको भनाइ छ । सुरुदेखि नै सरकारी तथा निजी स्रोतसाधन परिचालन गर्नुका साथै आवश्यक परे अन्तर्राष्ट्रिय प्रविधि र दक्ष जनशक्ति प्रयोग गर्नुपर्नेमा सरकार चुकेको उनले बताए ।
‘यो प्रचार गर्ने होइन, नागरिकको प्राण बचाउने समय हो,’ आङदेम्बेले भने ।
विपद्का बेला सरकारको कामकारबाहीमाथि प्रश्न उठाउनु प्रतिपक्षको पूर्वाग्रह नभई खबरदारी र जिम्मेवारी भएको उनले बताए । उनले खोज तथा उद्धार, राहतलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।