काठमाडौं। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र साहलाई कार्यशैली सुधार्दै संसद्प्रति उत्तरदायी बन्न आग्रह गरेका छन् । उनले बाढीपहिरोलगायत विपद्को जोखिम न्यूनीकरण र प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय सहमतिमा आधारित संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराए ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले प्राकृतिक विपत्तिमा हरेक वर्ष श्रद्धाञ्जली अर्पण गरेर मात्र नहुने भन्दै क्षति रोक्न दृढ योजनासहित अघि बढ्नुपर्ने बताए । राजनीतिक दल, नागरिक समाज र विज्ञ सम्मिलित बहुपक्षीय संयन्त्र तथा सरकारको कामको निगरानीका लागि विशेष संसदीय समिति गठन गर्न उनले प्रस्ताव गरे ।
उद्धार तथा राहत, अन्तर्राष्ट्रिय सहयोग र पुनर्निर्माणका लागि सम्बन्धित मन्त्रीको नेतृत्वमा छुट्टाछुट्टै कार्यदल गठन गर्नुपर्ने उनको सुझाव छ । जलवायु परिवर्तनबाट सिर्जित संकट सामना गर्न ‘सगरमाथा संवाद’को दोस्रो संस्करण तत्काल अघि बढाउनुपर्ने पनि थापाले बताए ।