काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने गरी प्रस्तावित सांगठनिक कार्यतालिका सार्वजनिक गरेको छ।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति तथा वडा तहदेखि केन्द्रसम्मका अधिवेशनको कार्यतालिका प्रस्तुत गरिएको हो।
प्रस्तावित कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौँमा गर्ने प्रस्ताव गरिएको छ।
त्यसअघि वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव छ।
त्यस्तै, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएको छ।
समितिले प्रस्तुत गरेको उक्त कार्यतालिका कांग्रेसको संस्थापनइतर समूहको प्रस्तावका रूपमा अघि सारिएको हो।