काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
विशेष प्रस्तावमार्फत सभामुख अर्यालले भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटसहित धादिङ, चितवन तथा गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गर्नुहुनेछ।
प्रस्तावमा बाढीका कारण ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकको मृत्यु तथा बेपत्ता भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विस्थापितको व्यवस्थापन, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा दिवङ्गतको आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ।
यसैबीच, आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ। बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा रसुवा बाढी तथा पहिरोले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे छलफल हुनेछ।
त्यस्तै, अपराह्न १२ः१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।