ललितपुर। नेपालमा पहिलोपटक ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ आयोजना हुने भएको छ। ओपन डोर्स इन्टरटेनमेन्ट प्रालिको निर्माणमा तयार हुन लागेको शोको बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको हो।
शोमा अभिनेता राजेश हमाल मुख्य निर्णायक तथा ‘लिग प्रेसिडेन्ट’को भूमिकामा रहनेछन्। अभिनेता विल्सन विक्रम राई, अभिनेत्री लुनिभा तुलाधर र सुरक्षा पन्त तथा अभिनेता रविन्द्र झा क्याप्टेन एवं मेन्टर रहनेछन्। अडिसनबाट छनोट भएका ३२ प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरी प्रत्येक समूहको नेतृत्व एक–एक जना क्याप्टेनले गर्नेछन्।
निर्माण पक्षका अनुसार दमक, नारायणगढ, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसन सञ्चालन हुनेछ। साउन २९ गते दमकबाट सुरु हुने अडिसन भदौ ६ गते काठमाडौंमा पुगेर सम्पन्न हुनेछ। विदेशमा रहेका र भौतिक रूपमा अडिसनस्थल पुग्न नसक्ने नेपालीभाषी प्रतिभाका लागि डिजिटल अडिसनको पनि व्यवस्था गरिएको छ।
समूहमा आधारित प्रतिस्पर्धामा कम्तीमा दुई वा सोभन्दा बढी प्रतिस्पर्धीले एउटै स्क्रिप्टमा संयुक्त प्रस्तुति दिनुपर्नेछ। स्केच, स्किट र ‘ड्रामेडी’ शैलीमा आधारित शोमार्फत परम्परागत कमेडियन मात्र नभई उत्कृष्ट ‘कमेडी एक्टर’को खोजी गरिने निर्देशक एलिन श्रेष्ठले बताए।
कार्यक्रम राष्ट्रिय टेलिभिजन तथा ओएसआर डिजिटलको युट्युब च्यानलबाट प्रसारण हुनेछ भने पर्दापछाडिका गतिविधि सारङ्गी मिडियामार्फत हेर्न सकिनेछ। सबै उमेर समूहलाई लक्षित गरिएको शो भदौको अन्तिम सातादेखि नियमित प्रसारण गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।