काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले एक चीन नीतिविपरीतका गतिविधिलाई प्रश्रय दिएको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएको भन्दै आलोचना गरे ।
उनले असार २२ गते स्वयम्भूस्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रमले नेपाल–चीन सम्बन्धमा असर पारेको दाबी गरे। कार्यक्रममा अमेरिका, फ्रान्स, युरोपेली युनियन र अष्ट्रेलियाका राजदूतहरूको उपस्थिति अर्थपूर्ण र गम्भीर विषय भएको उनको भनाइ थियो ।
नेपालको भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने राष्ट्रिय प्रतिबद्धताविपरीत सरकारले राष्ट्रहित प्रतिकूल र अपरिपक्व नीति लिएको आरोप पनि महरले लगाए। चीनका लागि नेपालका सात पूर्वराजदूतले समेत विज्ञप्तिमार्फत विरोध जनाएको स्मरण गराउँदै उनले सरकारको नियतमाथि प्रश्न उठाए ।
‘पश्चिमा शक्तिहरू नेपाललाई चीनविरोधी अखडा बनाउन र मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्रमा लागेको यो घटनाले पुष्टि गरेको छ। के वर्तमान सरकार एक चीन नीतिको विरुद्धमा उभिएको हो ? के सरकारले पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाई परित्याग गरेको हो ? यसबारे सरकारले सदनलाई स्पष्ट पार्नुपर्छ,’ उनले भने ।
परराष्ट्र नीतिमा सरकारले अपरिपक्वता देखाएको टिप्पणी गर्दै महरले छिमेकी राष्ट्रसँगको सम्बन्धमा सरकार सजग, गम्भीर र जिम्मेवार बन्नुपर्ने बताए। साथै, छिमेकीसँगको सम्बन्धलाई खेलवाडको विषय नबनाई नेपालको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्न सरकारसँग आग्रह गरे।