काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर निरन्तर काम गरिरहेको दाबी गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले सरकारले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिस्कृत र परिणाममुखी बनाउँदै अघि बढाएको बताए।
उनका अनुसार सरकारले पहिलो सय दिनभित्र भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, योग्यताका आधारमा नियुक्ति तथा डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम अघि बढाएको छ।
“सय दिनभित्र भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, योग्यताका आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम अघि बढेको छ। शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिस्कृत र परिणाममुखी बनाउँदै लगिएको छ र यसलाई निरन्तरता दिइनेछ। नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुशासन कायम गर्न नेपाल सरकार निरन्तर प्रतिबद्ध छ,” उनले भने।
मन्त्री पोखरेलले सरकारले डिजिटल सेवा प्रवाहलाई प्रभावकारी बनाउन पनि ठोस कदम चालेको दाबी गरे।