काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालको सीमा र भूमिसम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गरेको आरोप लगाइन्।
प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार मात्र नभई राज्यको आधिकारिक धारणा हुने भन्दै उनले सीमाजस्तो संवेदनशील विषयमा प्रयोग हुने प्रत्येक शब्दले अन्तर्राष्ट्रिय समुदायमा नेपालको सन्देश निर्धारण गर्ने बताइन्।
उनले कार्यपालिका संसदप्रति उत्तरदायी हुनुपर्ने लोकतान्त्रिक मूल्य–मान्यताको स्मरण गराउँदै पार्टीको मञ्चलाई संसदभन्दा माथि राख्ने अभ्यासले संसदीय लोकतन्त्रकै औचित्यमाथि प्रश्न उठाउने तर्क गरिन्।
ओलीले राष्ट्रिय हितसँग जोडिएको विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्षका सांसद मौन बसेको भन्दै प्रश्नसमेत उठाइन्।
“सीमा कुनै नक्साको रेखा मात्र होइन, यो हाम्रो इतिहास, बलिदान र सार्वभौमिकतासँग जोडिएको विषय हो। यस्तो गम्भीर विषयमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले संसद्मै दिनुपर्थ्यो, तर संसद्को सट्टा आफ्नै दलको महाधिवेशनलाई रोज्नुभयो। प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हितमा आँच पुग्दा पनि सत्तापक्षका माननीय सदस्यहरू किन मौन हुनुहुन्छ?” उनले भनिन्।
ओलीले राष्ट्रहितका विषयमा दलगत निष्ठाभन्दा माथि उठ्न आग्रह गर्दै इतिहासले प्रतिपक्षको भूमिकामात्र नभई सत्तापक्षको लाचारी र मौनताको पनि मूल्याङ्कन गर्ने बताइन्।