काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ ।
शुक्रबार समूह ‘बी’ को अन्तिम खेलमा हङकङले ओमानलाई पराजित गरेसँगै हङकङ समूहविजेता र ओमान उपविजेता भएपछि समूह ‘ए’ को विजेता नेपालले ओमानसँग खेल्ने भएको हो ।
नेपालले बिहीबार नै मलेसियालाई हराएर समूह ‘ए’ को विजेता बनिसकेको छ । मलेसियाले सेमिफाइनलमा हङकङसँग खेल्नेछ । चारवटै टोली जापानमा हुने एसियन गेम्समा छनोट भइसकेका छन् ।
शुक्रबार हङकङले ओमानमाथि १५४ रनको जित हासिल गरेको हो । हङकङले दिएको २८८ रनको विशाल लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
हङकङका लागि एहसान खानले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले अंशुमन राथको शतक तथा बाबर हायात र निजाकात खानको अर्धशतक मद्दतमा २० ओभरमा १ विकेट गुमाएर २८७ रन बनाएको थियो ।
अंशुमन ५६ बलमा १६० रन बनाएर नटआउट रहे । निजाकातले ४५ बलमा ७६ रन बनाए । बाबर १९ बलमा ६३ रन बनाएर अविजित रहे ।