काठमाडौँ । पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना गरेको छ। गत महिना राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शिविर अनुमति नलिई छाडेको भन्दै महासङ्घले उनीमाथि अनुशासनात्मक कारबाही गरेको हो।
४१ वर्षीय रोनाल्डोले गत सेप्टेम्बरमा नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा बेन्चमा बस्नुपरेपछि तथा अक्टोबर १ मा डेनमार्कविरुद्धको खेलमा पनि सुरुआती ११ खेलाडीमा नपर्ने भएपछि टोलीको प्रशिक्षण शिविर छाडेका थिए।
त्यसपछि सार्वजनिक गरेको लामो वक्तव्यमा रोनाल्डोले पोर्चुगलका मुख्य प्रशिक्षक जोर्गे जेसुसले आफूसँग दुई पटक गरेको प्रतिबद्धता पूरा नगरेको आरोप लगाएका थिए। उनले प्रशिक्षकबाट आफू पूर्ण रूपमा धोका पाएकोसमेत बताएका थिए।
एफपीएफको अनुशासन समितिले डेनमार्कविरुद्धको खेलकै दिनदेखि लागू हुने गरी प्रतिबन्धको निर्णय गरेकाले रोनाल्डोले १९ दिनको सजाय भुक्तान गरिसकेका छन्। यससँगै उनले पोर्चुगलका आगामी खेल गुमाउनुपर्ने छैन। पोर्चुगलले नोभेम्बर १४ मा नेसन्स लिगअन्तर्गत डेनमार्कसँग खेल्नेछ भने त्यसको तीन दिनपछि वेल्सको भ्रमण गर्नेछ।
अनुशासन समितिका अनुसार रोनाल्डोले आफ्नो वक्तव्यमार्फत व्यक्त गरेको पश्चाताप, फुटबलमा पुर्याएको योगदान र खेलकुद क्षेत्रमा हासिल गरेका उपलब्धिलाई ध्यानमा राखेर सजाय निर्धारण गरिएको हो। रोनाल्डोले आफ्नो बचाउमा व्यक्तिगत उपलब्धि र पुरस्कारसहितको विवरणसमेत पेस गरेका थिए। यसअघि उनले टोलीका सहकर्मी र समर्थकसँग माफी माग्दै आफूले सजाय भोग्नुपर्ने स्वीकार गरेका थिए।
मुख्य प्रशिक्षक जेसुसले भने रोनाल्डोसँग कुनै सम्झौता वा प्रतिबद्धता नगरिएको स्पष्ट पारेका छन्। यद्यपि, उनले रोनाल्डोका लागि राष्ट्रिय टोलीमा फर्किने ढोका खुला रहेको बताएका छन्। एफपीएफका अध्यक्ष पेड्रो प्रोएन्साले पनि विवाद समाधान भएसँगै रोनाल्डोलाई राष्ट्रिय टोलीमा फर्काउन आफूहरू इच्छुक रहेको बताएका छन्।
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन्। उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् भने अन्तर्राष्ट्रिय खेल सङ्ख्यामा पनि विश्व कीर्तिमान कायम गरेका छन्।
रोनाल्डोको सहभागितामा पोर्चुगलले सन् २०१६ को युरोकप र दुई पटक यूईएफए नेसन्स लिगको उपाधि जितेको छ। सन् २०२२ को डिसेम्बरमा साउदी अरेबियाको क्लब अल–नासरमा आबद्ध भएका रोनाल्डोले गत वर्ष आफ्नो सम्झौता नवीकरण गरेका थिए।