दोलखा । दोलखाको उत्तरी सिंगटी बजारमा नाबालिकालाई होटलमा लगेर बलत्कार गरेको खुलेको छ ।
यही चैत पहिलो साता १४ वर्षीया एक बालिकालाई होटलमा लगेर जबरजस्ती करणी गरेको पाईएको हो । जवरजस्ती करणीको आरोपमा विगु गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । जिल्लाको विगु गाउँपालिका–१ गोंगर खोलाका २२ वर्षीय धनराज तामाङलाई सिंगटीको एक होटलबाट पक्राउ गरिएको हो ।
यही चैत ३ गते दिउँसो विगु गाउँपालिका–४ सिंगटीस्थित सिंगटी होटल एण्ड लजमा बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको सूचनापछि खटिएको प्रहरी टोलीले तामाङलाई होटल परिसरबाटै पक्राउ गरेको थियो । पक्राउ परेका तामाङलाई दोलखा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाईएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) कमल कुमार लुंगेलीले जानकारी दिएका छन् ।
१४ वर्षीया ती बालिका कक्षा ८ मा पढ्दै आएकी थिईन् । घटनापछि पीडित बालिका हाल परिवारकै संरक्षणमा रहेकी छिन् ।