मध्यविन्दु (नवलपरासी) — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ सडकखण्ड अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। शुक्रबारदेखि अवरुद्ध बनेको यो खण्डमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रमा सडक चिप्लो र हिलो हुँदा यातायात सेवा प्रभावित भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज खड्का का अनुसार वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट बगिरहेको लेदोका कारण सवारीसाधन सञ्चालनमा समस्या कायम छ। विशेषगरी घिउखोला र विश्वकर्मा मन्दिर आसपासका उकालोमा सवारी चिप्लिएर बीच बाटोमै अड्किने अवस्था देखिएको छ।
पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन उकालो चढ्न नसक्दा सञ्चालन हुन सकेका छैनन् भने पश्चिमबाट पूर्वतर्फ जाने सवारी केही मात्रामा चलिरहेका छन्। तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु र चालकहरू बाटोमै अलपत्र परेका छन्, जसका कारण लामो दूरीका यात्रुवाहक र मालवाहक सवारी गन्तव्यमा पुग्न ढिलाइ भइरहेको छ।
नारायणगढ–बुटवल सडक आयोजना का अनुसार दाउन्ने खण्डमा सडक विस्तारको काम भइरहेकाले सामान्य वर्षामा समेत यस्तो समस्या दोहोरिने गरेको छ। हाल अवरुद्ध सडक खुलाउन मर्मत तथा सुधारको काम जारी रहेको आयोजनाले जनाएको छ।
यसैबीच, आयोजनाले चैत ८ गतेसम्म हरेक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। अहिले साना तथा आकस्मिक सेवाका सवारीसाधनसमेत प्रभावित भएका छन्।