काठमाडौँ- नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले काँग्रेस निर्वाचनसँगै आन्तरिक एकताका सवालमा निरन्तर सुदृढ बन्दै गइरहेको बताएका छन् ।
पार्टीभित्रको आन्तरिक एकता निरन्तर सुदृढ बन्दै गइरहेको उनले दावी गरे । शनिबार प्रवक्ता चालिसेले एक प्रेस विज्ञप्ति जारी गर्दै निवर्तमान पदाधिकारी पनि निर्देशन गर्ने कार्यमा संलग्न रहेको बताएका छन् ।
‘विशेष महाधिवेशनको पृष्ठभूमिलगायत कारणले पार्टीको नेतृत्व र ग्रासरुटमा कुनै अलमल, असहयोग वा गुनासोको अवस्था छ कि भन्ने प्रश्नमा हामी प्रष्ट पार्न चाहन्छौँ कि काँग्रेस निर्वाचनसँगै आन्तरिक एकताका सवालमा निरन्तर सुदृढ बन्दै गइरहेको छ,’ प्रवक्ता चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सबैले निर्वाचनको महत्व र सान्दर्भिकतालाई हृदयंगम गरेको परिप्रेक्ष्यमा निवर्तमान पदाधिकारी तथा वरिष्ठ नेतागण क्षेत्र क्षेत्रमा गई सहयोग र निर्देशन दिने कार्यमा क्रियाशील भएको बताइएको छ ।
यतिबेला संसारभर लोकतान्त्रिक परम्परा र मूल्यमाथि प्रहार भइरहेको अवस्था सबैलाई ज्ञात रहेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘लोकतन्त्रमाथिको संक्रमण कहीँ देखिने अनि कहीँ त्यो निवारण हुने श्रृंखला निरन्तर चलि नै रहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।