पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट उत्पन्न तिक्तता अन्त्य गर्दै पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न विशेष संवाद अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै सभापति थापाले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई संयोजन गरेर कांग्रेस जनतामाझ जानुपर्ने बताएका हुन् ।
उनले पार्टीको आन्तरिक निर्वाचनपछि देखिने मनमुटाव र कटुता अन्त्य गर्नुपर्नेमा जोड दिए । आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा जस्तो जित्नेले सबै पाउने र हार्नेले पार्टीबाट बाहिरिनुपर्ने अवस्थाका रूपमा लिन नहुने उनको भनाइ थियो ।
‘पार्टीभित्रको प्रतिस्पर्धालाई आम चुनावजस्तो जित्नेले सबै जित्यो र हार्ने बाहिरियो भन्ने रूपमा लिनुहुँदैन,’ उनले भने, ‘जित्नेले हस्तिनापुर पाएको र हार्नेचाहिँ सकियो भन्ने सोच गलत हो । पार्टीभित्र त सबैले स्पेस पाउनुपर्छ । प्रतिस्पर्धामा पछि परेका योग्य साथीहरूलाई पनि समेटेर अगाडि बढ्नुपर्छ ।’
थापाले पार्टीभित्रका सम्बन्धमा देखिएको कटुता हटाएर सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताए । बाहिरका व्यक्तिसँग सहनशील हुन सक्ने तर आफ्नै पार्टीका सहकर्मीसँग मिलेर बस्न नसक्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । संस्थागत गुटबन्दी अन्त्यसँगै आपसी सम्बन्धमा रहेको तिक्तता पनि मेटाउनुपर्ने उनले बताए ।
कांग्रेसमा २० देखि ८० वर्ष उमेर समूहका चार पुस्ता एकैसाथ सक्रिय रहनुलाई पार्टीको ठूलो पुँजीका रूपमा व्याख्या गर्दै थापाले अनुभव र ऊर्जाको उचित संयोजन गर्नुपर्ने उल्लेख गरे ।
‘नेपाल अहिले इतिहासमै पहिलो पटक सबैभन्दा बढी युवा भएको तन्नेरी अवस्थामा छ,’ उनले भने, ‘अबको २७–२८ वर्षपछि नेपाल पनि जापानजस्तै बुढ्यौलीतर्फ जान्छ । हामीसँग पुरानो पुस्ताको ज्ञान र अनुभव छ । साथै नयाँ पुस्ताको ऊर्जा छ । अनुभव र ऊर्जाको यो सही संयोजनलाई हामीले व्यवस्थापन गर्न सक्नुपर्छ ।’
सभापति थापाले पछिल्ला निर्वाचनमा कांग्रेससँग टाढिएका दुई लाखभन्दा बढी परम्परागत कांग्रेस मतदाता तथा उनीहरूका परिवारसँग संवाद सुरु गर्न प्रस्ताव गरेका छन् । यसका लागि आगामी मंसिर महिनाभर देशभरका वडा र टोलमा विशेष अभियान सञ्चालन गर्नुपर्ने उनको आग्रह छ ।
उनले पार्टीलाई मत नदिएका व्यक्तिलाई आलोचना वा गालीगलौज गर्नुभन्दा उनीहरूको घरमै पुगेर गुनासा सुन्न र प्रश्नको जवाफ दिनुपर्ने बताए ।
‘फलानो मान्छे वर्षौंदेखि कांग्रेस थियो, तर यो पटक उसले भोट हालेन । उसलाई गालीगलौज गरेर हुँदैन, मत छान्ने अधिकार उसको हो,’ उनले भने, ‘हामी उसको घरमै जानुपर्छ, भेट्नुपर्छ र उसका कुरा सुन्नुपर्छ । उसले कांग्रेस छोड्नुको गुनासो सुन्ने र उसका प्रत्येक प्रश्नको जवाफ दिने तागत आजको कांग्रेसले राख्छ ।’
थापाले कांग्रेस सबैखाले समस्या समाधान गर्ने संकल्पका साथ अघि बढेको दाबी गर्दै विगतका कमजोरीको समीक्षा र स्वीकारोक्ति आवश्यक रहेको बताए । सुशासन र शासकीय कमजोरीका विषयमा पार्टीले आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो ।
‘सत्ता नै सबैथोक हो र सत्ताकै लागि जे पनि सम्झौता गर्नुपर्छ भन्ने मेसिनजस्तो सोच हाम्रो कमजोरी थियो,’ उनले भने, ‘हामी कमजोरीबाट भाग्दैनौँ, स्वीकार्छौँ । अब हामी डेमोक्रेसी पनि जोगाउँछौँ र डेलिभरी पनि दिन्छौँ ।’
नेताहरू जनताबाट टाढिँदै गएको उल्लेख गर्दै सभापति थापाले पार्टीभित्र देखिएको तडकभडकपूर्ण शैली अन्त्य गरी जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए ।