विराटनगर– कोशी प्रदेश सरकारले मुख्यन्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए।
त्यसैगरी, बैठकले कात्तिक ८ गते धनकुटा, भोजपुर र उदयपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा भएको बोट दुर्घटनाबारे सत्यतथ्य अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको प्रवक्ता शेर्पाले बताए।
बैठकले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा ‘हटलाइन’ सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गरेको प्रवक्ता शेर्पाले जानकारी दिए।