नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै पोखरा एभेन्जर्सले आफ्ना समर्थकका लागि पोखरा र भक्तपुरमा फ्यान पार्क सञ्चालनमा ल्याएको छ।
टिकट अभाव वा भौगोलिक दूरीका कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुग्न नसक्ने समर्थकलाई लक्षित गर्दै टोलीले दुई स्थानमा फ्यान पार्क स्थापना गरेको हो।
पोखराको हलनचोकस्थित क्याम्पिङ चौर र भक्तपुरको सल्लाघारीस्थित नेवा ननीमा रहेका फ्यान पार्कमा समर्थकले एकै ठाउँमा भेला भएर खेलको प्रत्यक्ष प्रसारण हेर्न र टोलीलाई समर्थन गर्न सक्नेछन्।
एनपीएलको उद्घाटन खेलका दिन दुवै फ्यान पार्कमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो। प्रतियोगिताभरि पनि फ्यान पार्कमा खेल हेर्न पाउने व्यवस्थाबारे टोलीले जनाएको छ।