काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा जालसाजी तथा कीर्ते मुद्दा दायर गरेकी छन्।
आफूलाई प्रदेशसभा सदस्य पदबाट हटाउन प्रयोग गरिएको कागजात आधिकारिक निर्णयबिना तयार पारिएको दाबी गर्दै काफ्लेले मंगलबार मुद्दा दर्ता गराएकी हुन्।
काफ्लेले दायर गरेको निवेदनमा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, प्रदेशसभा सदस्य सन्तोष पाण्डे र अजयकुमार झालाई विपक्षी बनाइएको छ।
काफ्लेले आफूले पार्टी नत्यागेको र राजीनामासमेत नदिएको अवस्थामा अनधिकृत पत्रका आधारमा पदमुक्त गरिएको दाबी गरेकी छन्। पार्टीको लेटरहेड र छाप दुरुपयोग गरी कागजात तयार पारिएको उनको आरोप छ।
यसअघि संसदीय दलका नेता सन्तोषकुमार पाण्डेको सिफारिसमा प्रदेशसभा सचिवालयले काफ्लेको पद रिक्त भएको सूचना जारी गरेको थियो। उक्त निर्णयविरुद्ध काफ्ले सर्वोच्च अदालत पुगेकी थिइन्। सर्वोच्च अदालतले २०८३ असोज ६ गते उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
विवादित पत्र भदौ २२ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको र त्यसैका आधारमा भदौ २४ गते काफ्लेलाई पदमुक्त गरिएको सूचना जारी भएको थियो।
काफ्लेले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ र २७७ अनुसार कारबाहीको माग गर्दै विवादित कागजातको परीक्षण गर्न, दोषीमाथि कानुनी कारबाही अघि बढाउन तथा आफूलाई परेको क्षतिको कानुनी उपचार उपलब्ध गराउन अदालतसमक्ष माग गरेकी छन्।