काठमाडौँ । टिम सिर्फट र फिन एलेनले कीर्तिमानी ओपनिङ साझेदारी गरेपछि न्युजिल्यान्डले आईसीसी पुरुष टी-२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ ।
न्युजिल्यान्डले युएईलाई १० विकेटले पराजित गरेको हो । सिर्फट र एलेनले टी-२० विश्वकप इतिहासमै कुनै पनि विकेटका लागि हाल सम्मकै उच्च साझेदारी गरे । चेन्नईमा पहिले ब्याटिङ गरेको युएईले कप्तान मोहम्मद वासिम र अलिशान शराफुको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।
दोस्रो विकेटका लागि वासिम र शराफुले १ सय ७ रनको साझेदारी गर्दै बलियो आधार तयार पारेका थिए । ४५ बलमा ६६ रन बनाउँदै वासिम अविजित रहे भने शराफुले ४७ बलमा ५५ रन जोडे । यो साझेदारी टी(२० विश्वकपमा कुनै एसोसिएट टोलीले पूर्ण सदस्य राष्ट्रविरुद्ध बनाएको पहिलो शतकीय साझेदारीसमेत थियो ।
न्युजिल्यान्डका लागि म्याट हेनरीले २ विकेट लिए । १ सय ७४ रनको लक्ष्य न्युजिल्यान्डले २८ बल बाँकी रहँदै विनाकुनै विकेट गुमाएर पुरा गर्यो । ओपनर सिर्फट र एलेनले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै युएईको सबै सम्भावना समाप्त गरिदिए । सिर्फटले ४२ बलमा ८९ र एलेनले ५० बलमा ८४ रनको अर्धशतकीय योगदान दिए ।
यो जोडीले गरेको १ सय ७५ अविजित साझेदारीले सन् २०२२ को सेमिफाइनलमा भारतविरुद्ध इंल्यान्डका जोस बटलर र एलेक्स हेल्सले बनाएको १ सय ७० रनको कीर्तिमान भङग भयो । जितसँगै समूह डीको शीर्ष स्थानमा रहेको न्युजिल्यान्डले सुपर ८ को सम्भावनालाई बलियो बनाएको छ । आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको ब्ल्याक क्यप्सले २ खेलमा ४ अंक जोडेको छ ।
युएईले भने हारसहित विश्वकपको सुरुवात गर्यो । टी-२० विश्वकपमा अहिले पाकिस्तान र अमेरिकाबीचको खेल जारी छ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण कान्तिपुर म्यास र म्याक्स २ बाट भइरहेको छ ।