सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा सर्लाही निर्वाचन-३ का उम्मेदवार नारायणकाजी श्रेष्ठले सर्लाहीका जनताको हक-अधिकार, विकास र समग्र देशको समृद्धिका लागि दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
सर्लाहीमा मतदातामाझ एक कार्यक्रममा उनले आफू गोरखामा जन्मिएको भए पनि कुनै एक ठाउँमा स्थायी बसोबास नरहेको र देश तथा जनताको हितका लागि जहाँ बसेर काम गर्नुपर्छ, त्यहीँ बसेर काम गर्ने प्रष्ट्याए ।
‘अहिले म यहाँ छु-सर्लाहीको जनताको काखमा आएको छु,’ श्रेष्ठले भने ।
सुकुमबासी, अव्यवस्थित बस्ती तथा श्रमजीवी परिवारको स्थायी बसोबास सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै लालपुर्जा वितरण र अधिकार सुनिश्चित गर्ने विषयमा आफू जनतासँगै उभिने उनले बताए ।
‘हामीले ठूलो संघर्ष गरेर परिवर्तन ल्याएका हौँ । अहिले पनि गरिब तथा उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगका जनताको पक्षमा संघर्ष गर्न छाडेका छैनौँ,’ श्रेष्ठको भनाइ छ ।
जनतालाई विश्वास दिलाउँदै श्रेष्ठले हक-अधिकारका पक्षमा अन्तिम समयसम्म लडिरहने, विकास र समृद्धिका लागि जनतासँगै संघर्ष गर्ने तथा व्यक्तिगत रूपमा पनि समस्या, अन्याय वा दुःख-अप्ठ्यारो पर्दा साथमा उभिने तीन प्रतिवद्धता व्यक्त गरे ।
चुनावमा मात्रै आउने, भोट माग्ने र पछि हराउने खालको राजनिती अब बदल्नुपर्ने भन्दै उनले जनताको सेवा, न्याय, अधिकार र विकासको राजनीति अघि बढाउने प्रतिबद्धता जनाए ।