काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। लुम्बिनीले उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीका डार्सी सर्टले १८ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए। आसिफ शेखले ३२ रन जोडे।
बलिङमा सुदूरपश्चिमका अनिल खरेलले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो। उसका लागि दीपेन्द्रसिंह ऐरीले २७, अनिल खरेलले अविजित १५ र सैफ जैबले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अर्कोतर्फ, लुम्बिनीका किशोर महतोले ४ र शेर मल्लले ३ विकेट लिए। शेड्ली भान शाल्कविक, तिलक भण्डारी र रोहित पौडेलले १–१ विकेट हात पारे।
पराजयपछि सुदूरपश्चिमका मुख्य प्रशिक्षक मिस्बाह उल हकले टोलीको सुरुवात राम्रो हुन नसकेको र प्रदर्शन निराशाजनक रहेको बताए।