म्याग्दी– म्याग्दीमा संघीय सरकारका तीनवटा नयाँ कार्यालय स्थापना हुने भएका छन्। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका कार्यालय जिल्लामै स्थापना भएपछि विकास आयोजना छनोट तथा कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ।
जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीका अनुसार संघीय खानेपानी तथा ढल व्यवस्थापन, जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाका कार्यालय म्याग्दीमा स्थापना गर्न लागिएको हो।
‘पूर्वाधार विकास मन्त्रालयले म्याग्दीमा तीनवटा नयाँ कार्यालय विस्तार गर्ने निर्णय गरी आवश्यक सहजीकरणका लागि समन्वय समितिलाई पत्राचार गरेको छ,’ उनले भनिन्, ‘खानेपानी तथा ढल व्यवस्थापन कार्यालय साविकको एकाइ रहेको भवनबाट सञ्चालन हुनेछ भने अन्य दुई कार्यालयका लागि भवन खोजी भइरहेको छ।’
स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यक्षेत्र म्याग्दी, बागलुङ र मुस्ताङ रहनेछ। त्यस्तै, खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ जिल्लामा काम गर्नेछ। जलस्रोत तथा सिँचाइ आयोजनाको कार्यक्षेत्र कालीगण्डकी नदी बेसिनका जिल्लाहरू रहने जनाइएको छ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय आर्थिक वर्ष २०८२/८३ मा पोखरामा गाभिएपछि बेनीमा एकाइ मात्र सञ्चालनमा थियो। जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाका कार्यालय भने यसअघि बेनीमा थिएनन्। तीनवटै कार्यालय यसअघि पोखराबाट सञ्चालन हुँदै आएका थिए।
कार्यालय जिल्लामै स्थापना भएपछि सडक, सहरी विकास, नदी नियन्त्रण, बस्ती संरक्षण, खानेपानी तथा सिँचाइसम्बन्धी महत्त्वपूर्ण आयोजना सञ्चालन गर्न सहज हुने कार्यवाहक प्रमुख खत्रीले बताइन्। उनका अनुसार योजना छनोटदेखि कार्यान्वयनसम्मका प्रक्रियामा समेत सहजीकरण हुनेछ।
तीनवटै कार्यालय तिहारअघि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिइन्।
(रासस)