काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक शून्य दशमलव ९४ अङ्कले बढेर दुई हजार ६३० दशमलव ७६ विन्दुमा पुगेको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ३० अङ्कले घटेर ४७५ दशमलव ४७ विन्दुमा झरेको छ। त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव १० अङ्कले घटेर १८२ दशमलव ११ विन्दुमा कायम भएको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव २६ अङ्कले घटेर १६० दशमलव ६९ विन्दुमा पुगेको छ।
आज विभिन्न कम्पनीका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर पाँच अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। आज १३५ कम्पनीको सेयर मूल्य बढ्दा १३६ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
नेप्सेका अनुसार आज बेनी हाइड्रोपावर, माथिल्लो मैलुङ खोला हाइड्रोपावर र दोर्दीखोला जलविद्युत् कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन्। युनिलिभर नेपाल, एभरेष्ट बैंक डिबेञ्चर र नबिल बैंक डिबेञ्चरलगायतका लगानीकर्ताले भने गुमाएका छन्।