काठमाडौँ। नेपाली काँग्रेस संस्थापन पक्षका दुई दर्जन सदस्यहरू चुनावअघि नै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा उभिएका छन् ।
१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट निर्वाचित भएकाहरूले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।
सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतका २४ जना सदस्यहरू आइतबार पनि काठमाडौँको कालिमाटीमा छलफलमा जुटेका थिए । उनीहरू सबैले केन्द्रीय समितिमा धारणा राख्ने क्रममा चुनावअघि नै महाधिवेशन गर्नुपर्ने बताएका थिए ।
छलफलमा सह महामन्त्री फरमुल्लाह मन्सुर सहित केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, डा. डिला सङ्ग्रौला, देवेन्द्र राज कँडेल, अमृत अर्याल, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, तारामान गुरुङ, मोहन आचार्य, विनोद चौधरी, धना खतिवडा, अनिल रुङटा, कर्ण बहादुर बुढा, अर्जुन प्रसाद जोशी, मैकुलाल वाल्मीकि, भरत कुमार शाह, अब्दुल रज्जाक, आङगेलु शेर्पा, मदन अमात्य, माया राई, जिप छिरिङ लामा, मदन कृष्ण श्रेष्ठ, प्रदीप सुनुवार लगायत सहभागी थिए ।
उक्त बैठकमा सहभागी एक नेताका अनुसार, आजको बैठकले सबै चुनावअघिकै पक्षमा उभिएका छन् ।
उक्त बैठकको निष्कर्ष लिखित रूपमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी रहेको पनि उनले बताएका छन् । काँग्रेसमा चुनाव अघि वा पछि महाधिवेशन गर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ ।