झापाको मेचीनगर नगरपालिका–७ पालिका गंगा टोलमा १३ वर्षीया बालिका बालिकामाथि यौनजन्य दुर्व्यवहारको घटना भएको सार्वजनिक भएको छ । यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेसँगै घटना सार्वजनिक भएको छ ।
घटनाको विवरण अनुसार ती बालिका माथि स्थानीय ३८ वर्षीय महेश मण्डलले जबरजस्ती गरेको आरोप लागेको हो । ती व्यक्तिले वैशाख २९ गते आफ्नै घरको टिभी कोठामा एक्कै भएको मौका पारी बालिकालाई ललाइ फकाइ पाँच सय दिएर जबरजस्ती करणी गरेको बताएपछि यो घटना बाहिर आएको हो ।
त्यस लगत्तै आरोप लागेका ती ब्यक्तिलाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा लगिएको थियो । आफु माथि जबरजस्ती गरेको भन्दै बताएपछि बालिकाको आमाले आजै प्रहरीमा किटानी जाहेरी दिएकी छिन । जाहेरीपछि थप अनुसन्धान गरी कारबाही अघि बढाउने झापा प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले केटिएम दैनिकलाई बताए ।
पक्राउ परेका व्यक्ति उपर जबरजस्ती करणी मुद्दा चल्ने बताइएको छ । यस अघि हिजो मात्र मेचीनगर ११ मा एक ११ वर्षीया बालिका माथि अपहरण पछि बलात्कार गरेको घटना बाहिर आएको थियो । यो घटनामा संलग्न रहेको भन्दै अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय विपिन राई पक्राउ परेका थिए ।
उनलाई ७ दिनको म्याद थप गरिएको छ । मुलुकी अपराध संहिताको दफा २२५ बमोजिम बाल यौन दुरुपयोग सम्बन्धी कसुरमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय हुने कानुनी व्यवस्था रहेको छ । यस अघि पनि मेचीनगर १० की ९ बर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा जेठ २ गते धुलाबारीका एक व्यक्ति पक्राउ परेका थिए ।
यो सँगै झापाको मेचीनगर नगरपालिकाको एउटा विद्यालयका प्रधानाध्यापकले महिला शिक्षकमाथि यौन दुर्व्यवहार गरेको खुलासा भएको थियो । मेचीनगर ७ स्थित अरनिको माविका प्रधानाध्यापकले सोही विद्यालयकी महिला शिक्षकमाथि लामो समयदेखि यौन दुर्व्यवहार गरे पछि महिला शिक्षकले विद्यालयका सहकर्मीहरूलाई आफूमाथि भइरहेको हिंसाका बारेमा जानकारी गराएपछि रहस्य बाहिर आएको हो ।
विद्यालयमा घट्नाका बारेमा जानकारी भए पछि प्रधानाध्यापकले पीडित महिला शिक्षकलाई जागिरबाट निकालिदिने, सार्वजनिक रूपमा बेइज्जत गर्ने जस्ता धम्की दिए पछि महिला शिक्षकले डराएर घट्नाका बारेमा सार्वजनिक गर्न नसकेको विद्यालय स्रोतले जनाएको छ ।