साथीका बुबाबाट डेढ वर्षसम्म बलात्कारको सिकार भएकी धनकुटाकी ११ वर्षीया बालिकाले अझै न्याय पाउन सकेकी छैनन् । २०७७ वैशाखयता साथीको बुबाबाट बलात्कृत ती बालिकाले डेढ वर्षपछि मात्र घटनाबारे घर–परिवारलाई सुनाएकी थिइन्।
धनकुटा नगरपालिका–६ आत्माराका मिलन भनिने नीलबहादुर भुजेलले कसैलाई भनेमा ज्यान मार्ने धम्की दिँदै ती बालिकामाथि कयौं पटक बलात्कार गरेका थिए। सुरुमा साथीको घरमा जाँदा बलात्कृत बालिकाले विभिन्न अस्वभाविक स्वभाव देखाउन थालेपछि परिवारका सदस्यले सोधपुछ गरेका थिए।
त्यसपछि प्रहरीले गत वर्षको फागुन ६ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए। तर प्रहरीमा जाहेरी पर्नुअघि नै आरोपित भुजेल भने फरार भए। त्यसयता उनलाई प्रहरीले भेट्टाउन सकेको छैन। चार महिना बितिसक्दा पनि उनी पक्राउ नपर्दा पीडित पक्षले न्याय पाउने आशा मारिसकेका छन्। प्रहरीले संलग्नको खोजी कार्यमा ढिलासुस्ती गरेको पीडित परिवारको गुनासो छ।
तर सो घटनाले पीडित नाबालिकाको पढाइलेखाइ समेत प्रभावित बनेको छ। छटपटीमा दिन–रात कटाउने गरेकी बालिका घरी रुन्छिन्, घरी हास्छिन्। घरी आत्तिन्छिन् घरी चिच्याउँछिन् अनि डराउँछिन्।
प्रहरी भन्छ : अनुसन्धान जारी छ
प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताएको छ। प्रतिवादी फरार भए पनि एक वर्षसम्मको सबै सबुत संकलन गरेर अदालतमा बुझाउने धनकुटा प्रहरी प्रवक्ता डिएसपी चिरन्जीवी दाहालले केटिएम दैनिकसँग भने। माघ ७ गते किटानी जाहेरी परेको थियो भए पनि बलात्कारको हदम्याद कटिसकेका कारण बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धान भइरहेको उनको भनाइ छ।
उनले भने, ‘हामीले प्रतिवादी खोजिरहेका छौँ। नभेट्टाएमा सबै प्रमाण संकलन गरेर अदालतमा बुझाउँछौँ र अदालतबाट पक्राउ पुर्जी जारी हुन्छ। पीडितले न्याय पाउँछिन्। ढिलाइ हुन दिन्नौँ।’