पत्नीको हत्या गरेर फरार भएका पतिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभर रहेका छन्।
घरायसी विवादको कारण पत्नी ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरी फरार रहेका राजभरलाई मंगलबार पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले केटिएम दैनिकलाई बताए ।
उनका अनुसार जेठ ६ गते राति ९ बजे उनीहरूबीच घरायसी झगडा भएको थियो। झगडामा राजभरले पत्नीमाथि काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरेका थिए। पत्नीको मृत्युपछि उनी फरार भएका थिए।
फरार उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसूरमा दुई दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको डिएसपी श्रेष्ठले जनाए।