
वीरगन्ज । कक्षा ११ मा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहार गर्ने सोही विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन् ।
वीरगन्ज महानगर-१५ भिष्मामा रहेको पिस जोन एकेडेमीका प्रिन्सिपल छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका हुन् ।
पक्राउ पर्ने सर्लाही हरिपुर्वा नगरपालिका-४ डुमरिया बस्ने अन्दाजी वर्ष ३५ को राकेश यादव रहेका छन् ।
उनलाई बुधवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी चौकी आदर्शनगरबाट खटिएको टोलीले प्रिन्सिपल यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको हो ।
प्रहरीको न्यायिक हिरासतमा रहेका यादवको मुटुमा समस्या देखिएपछि उनलाई बिहीबार बेलुका नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालमा भर्ना गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए ।

अस्पतालमा उपचाररत यादवको अवस्था सामान्य रहेको बुझिएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार प्रिन्सिपलले यौन दुर्व्यवहार गरेको भन्दै पीडित छात्राका अभिभावकले पालिकामा उजुरी दिएका थिए ।
उक्त उजुरी प्रहरीमा आइपुगेपछि प्रिन्सिपललाई नियन्त्रणमा लिइएको हो ।