
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीरगञ्जको नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने बिरामीलाई नि:शुल्क औषधि र उपचारको प्रबन्ध मिलाउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।
वीरगञ्ज आसपासमा झाडापखला र हैजाको सङ्क्रमण देखिएपछि निरीक्षण गर्न आउनुभएका मन्त्री पौडेलले अस्पतालले बिरामीको उचित ढंगले उपचार गर्नुपर्ने बताएका हुन्।
“नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने कुनै पनि बिरामीले जुनसुकै औषधि नि:शुल्क पाउने गरी व्यवस्थापन गर्न आग्रह छ”, उनले भने,“विश्व स्वास्थ्य संगठनको पोर्टोकलले भ्याउने खालको औषधिले पुग्ने भए ठिकै छ । नत्र भने परिस्थितिवश थप औषधि दिनुपर्ने छ भने पनि ती औषधि नि:शुल्क उपलब्ध गराउन र आवश्यक व्यवस्थापन गर्नका लागि अस्पताल प्रशासनलाई निर्देश गर्दछु ।’’
मन्त्री पौडेलले अस्पतालमा उपचाररत बिरामीसँग त्यहाँको सेवा र गुनासाबारे जानकारी लिनुभएको थियो । ‘‘बिरामीसँग कुरा गर्दा केही औषधि किन्नुपरेको गुनासो सुन्नुपर्यो । त्यसैले अबदेखि कुनै औषधि किन्न नपर्ने खालको व्यवस्था मिलाउनुहोला”, उनले भने, “झाडापखला र हैजाको परीक्षण गर्दा कुनै प्रकारको शुल्क नलिनको मेरो आग्रह छ ।”
मन्त्री पौडेलले तीनै तहका सरकारसँग समन्वय गरेर कुनै पनि हालतमा औषधिको कमी हुन नदिने बताए । ‘‘कुनै पनि हालतमा औषधिको अभाव हुने छैन । जनशक्तिको अभाव हुने छैन । अहिले नारायणी अस्पतालमा बारा र रौतहटका प्रादेशिक अस्पतालबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोली आइरहेको छ । त्यसैगरी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आउने कुरा भइरहेको छ ।’’
मन्त्री पौडेलले थप जनशक्ति र सहायता चाहिएको खण्डमा संघीय सरकारले तत्कालै चिकित्सकसहितको जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले वीरगञ्जका निजी अस्पताललाई झाडापखला र हैजाका बिरामीलाई सहज र सुलभ मूल्यमा औषधि उपचारमा सहयोगका लागि आग्रह गरे ।