काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले राजदूत नियुक्तिको सिफारिसबाट आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।
सभापति श्रेष्ठका अनुसार उजुरीमाथि छलफल गर्न थापालाई समितिमा बोलाइएको थियो । छलफलका क्रममा थापाले स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) देखिने अवस्था भए आफू नाम फिर्ता लिन तयार रहेको बताएका थिए ।
‘देशको कुरा हो, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो भने म नाम फिर्ता लिन्छु भन्नुभयो,’ श्रेष्ठले भने । उनले थापाको नाम फिर्तासम्बन्धी लिखित पत्र आउन बाँकी रहेको पनि जानकारी दिए ।
यसअघि असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा थापासँग जापानको स्थायी बसोबास अनुमति (पीआर) रहेको विषय उठेपछि सुनुवाइ प्रक्रिया रोकिएको थियो ।
सुनुवाइका क्रममा थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, सांसदहरूले संविधानको धारा २९१ र पीआर त्यागेको समयावधिबारे प्रश्न उठाएका थिए ।
यस विषयमा स्पष्टता खोज्दै संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण माग गरेको थियो । मन्त्रालयले जापानस्थित नेपाली दूतावासमार्फत प्राप्त जवाफ समितिमा पठाएको थियो ।