काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा दिएको ‘भारतविरोधी राष्ट्रवादको युग अन्त्य भयो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल–चाइना फ्रेन्डसिप फोरमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान सरकारको परराष्ट्र नीतिप्रति असन्तुष्टि जनाएका हुन् । उनले सरकारका मन्त्रीहरूले चीनसँगको सुमधुर सम्बन्धलाई राष्ट्रिय राष्ट्रवादको आधार मान्ने युग पनि अन्त्य भएको घोषणा गर्ने हुन् कि भन्ने चिन्ता व्यक्त गरे ।
नेपालले चीन र भारत दुवै छिमेकी मुलुकसँग समान र सुमधुर सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताए ।
‘हामीले चीन र भारत दुवै छिमेकी मित्रहरूसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम राख्नै पर्छ । यसमा कुनै पनि प्रकारको हेलचेक्र्याइँ, गैरजिम्मेवारी र हीनताबोध प्रदर्शन गर्नुहुँदैन,’ उनले भने, ‘हाम्रो राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ ।’
वर्तमान सरकारले नेपालको स्वतन्त्र र असल परराष्ट्र नीतिलाई निरन्तरता दिनुपर्ने भए पनि त्यस दिशामा अघि बढेको नदेखिएको श्रेष्ठको टिप्पणी थियो ।
उनले पार्टीभित्रको सुशासनबिना राज्य र समाजमा सुशासन कायम गर्न नसकिने बताए । सुशासनबिना गरिबी उन्मूलन, नयाँ विकास मोडेलको कार्यान्वयन र समाजवाद निर्माण सम्भव नहुने उनको भनाइ थियो । पार्टीभित्र सुशासन कायम गर्न चीनको कम्युनिस्ट पार्टीको अभ्यास बुझ्न पनि उनले नेपाली कम्युनिस्ट पार्टीहरूलाई आग्रह गरे ।