सुनसरीको इटहरीबाट बिहनीको घर जाँदै गरेकी बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । मोरङको सुन्दरहरैँचा–४ बलियास्थित एक होटलमा राखेर उनीमाथि तीन जनाको समूहले बलात्कार गरेको हो ।
सामूहिक बलात्कारबाट पीडित महिलाको अवस्था गम्भीर भएको छ । उनको यौनाङ्ग क्षतविक्षत भएको छ । हाल उनको विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ । यता, प्रहरीले घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अन्य दुई जना फरार रहेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएपसी मञ्जिल मुकारुङका अनुसार उनलाई सुन्दरहरैँचा–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर शुक्रबार राति सामूहिक बलात्कार गरिएको हो । होटल सञ्चालक सुन्दरहरैँचा–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटलमा राखेर रातभर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न थालेकी थिइन् । काम सकेर सुन्दरहरैँचाकै गछियास्थित बहिनीको घरमा फर्कँदै गरेको अवस्थामा उनले बाटो भुलेकी थिइन् । हालैमात्र खोटाङबाट बसाइँ सरेर बेलबारी झरेकी उनले बाटो भुलेर रामबहादुरलाई सोधेकी थिइन् ।
सोही मौका छोपेर रामबहादुरले बहिनीको घर लगिदिने भन्दै शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछियाबाट बलियास्थित होटल पुर्याएका थिए । त्यसपछि तीन जना मिलेर उनलाई बलात्कार गरेका थिए । प्रतिकार गर्नखोज्दा रामबहादुरले उनको यौनाङ्गमा हात छिराएर क्षतविक्षत पारेको प्रहरीले जनाएको छ । बलात्कारपछि रक्तश्राव नियन्त्रणमा नआएपछि शनिबार दिउँसोमात्र उपचारका लागि उनलाई कोसी अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याएपछि प्रहरीले घटनाबारे जानकारी पाएको हो । हाल प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । अनुसन्धानकै क्रममा शनिबार प्रहरीले होटल सञ्चालकका भाइ मनोजलाई पक्राउ गरिसकेको छ । होटल सञ्चालक अर्जुन र रामबहादुर भने फरार रहेका छन् ।
त्यसबाहेक प्रहरीले अर्जुनको होटलमा काम गर्ने आरती श्रेष्ठ नाम गरेकी युवतीलाई पनि नियन्त्रणमा लिएको छ । डिएसपी मुकारुङका अनुसार सामूहिक बलात्कार भएको घटना प्रत्यक्ष देखेकी युवतीले पीडित महिलाले चिच्याएर हारगुहार गर्दा पनि प्रहरीलाई खबर नगरेको पाइएपछि उनलाई समेत पक्राउ गरिएको छ ।