बझाङ । बझाङका ग्रामीण बस्तीमा पछिल्लो समय क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल र टेलिभिजनको पर्दामा राष्ट्रिय टोलीका खेल हेरेर रमाउने गाउँका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् ।
दसैँ, तिहार र छठ पर्वका अवसरमा आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय युवामा उत्साह थपिएको छ । सीमित स्रोतसाधन, व्यवस्थित खेलमैदानको अभाव र सरकारी लगानी न्यून भए पनि युवाले खेतबारी, खुला चौर तथा खाली ठाउँलाई नै क्रिकेट मैदान बनाएर आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को लोकप्रियताले समेत गाउँमा क्रिकेटप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । पछिल्लो समय जिल्लाका विभिन्न गाउँमा स्थानीय क्लब तथा युवा समूहको सक्रियतामा प्रतियोगिता आयोजना हुने क्रम बढेको छ ।
बाँस्काटिया युवा जागरण अभियानका क्रिकेट संयोजक चक्रजङ्ग रोकायाको पहलमा यस वर्ष खप्तडछान्ना गाउँपालिकामा पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । दसैँ–तिहारको अवसरमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम गर्ने तयारी भइरहेका बेला सुरु भएको प्रतियोगितामा बाँस्काटियाका १८ टोलीले सहभागिताका लागि नाम दर्ता गराएका थिए ।
मोबाइल र टेलिभिजनमा राष्ट्रिय टोलीको खेल हेर्दै आएका स्थानीय युवाले आफ्नै गाउँमा प्रतियोगिता खेल्न पाउँदा नयाँ अनुभव प्राप्त गरे । खेतमै सञ्चालन गरिएको प्रतियोगितामा सामान्य मानिएका टोलीले समेत उत्कृष्ट प्रदर्शन गरेपछि दर्शक उत्साहित बनेका थिए ।
गाउँका किशोर तथा युवाले खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेलेर सिकेको क्रिकेटले प्रतियोगितामा राम्रो प्रदर्शन गरेको आयोजकको भनाइ छ ।
क्रिकेट संयोजक रोकायाले गाउँमा यति धेरै क्रिकेट प्रतिभा रहेको आफूहरूले पहिलोपटक महसुस गरेको बताए । ‘हाम्रो खप्तडछान्ना गाउँपालिकामा पनि यस्तो प्रतिभा छ भन्ने हामीले कल्पना नै गरेका थिएनौँ । खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेल्दै आएका युवा तथा किशोरको खेलले दर्शकको मन जित्यो । सामान्य भनिएका टोलीले पनि उत्तिकै राम्रो प्रदर्शन गरे । यो नै हामी आयोजकका लागि सफलता हो,’ उनले भने ।
स्थानीयस्तरमा प्रतियोगिता आयोजना हुन थालेपछि गाउँका युवाले आफ्नो क्षमता देखाउने अवसर पाएका छन् । खेलप्रतिको रुचि र सहभागिता बढ्दै गएकाले आगामी दिनमा अझ व्यवस्थित प्रतियोगिता सञ्चालन गर्न सकिने आयोजकको विश्वास छ ।
बाँस्काटियामा प्रतियोगिता सम्पन्न भएको एक सातामै खप्तडछान्ना गाउँपालिका–४ माझिगाउँमा अर्को क्रिकेट प्रतियोगिता आयोजना भयो । जिम्माल युवा क्लबले आयोजना गरेको प्रतियोगितामा दुई दर्जनभन्दा बढी टोली सहभागी भएका थिए ।
प्रतियोगिताको विजेतालाई एक लाख ५० हजार रुपैयाँ र उपविजेतालाई ४० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो । आकर्षक पुरस्कार र स्थानीय युवाको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको थियो ।
जिम्माल युवा क्लबका संयोजक मुकेश रोकायाका अनुसार माझिगाउँमा विगत चार वर्षदेखि नियमित रूपमा क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ ।
वडास्तरीय रूपमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न वडा तथा गाउँका टोली सहभागी हुने गरेका छन् । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी बाहिरका प्रतियोगितामा समेत सहभागी गराउने गरिएको उनले बताए ।
‘वडास्तरीय प्रतियोगितामा विभिन्न वडा तथा गाउँबाट टोली प्रतिस्पर्धामा उत्रिन्छन् । यहाँबाट उत्कृष्ट खेलाडी छनोट गरेर बाहिरका प्रतियोगितामा सहभागी गराउँछौँ । त्यहाँबाट ट्रफी जितेर गाउँ फर्किंदा सबैलाई खुसी लाग्छ । नियमित खेल भइरहँदा खेलाडी र गाउँ दुवैलाई फाइदा पुगेको छ,’ उनले भने ।
स्थानीय क्लबको सक्रियताले क्रिकेटलाई गाउँको खेलकुद संस्कृतिका रूपमा विकास गर्न सहयोग पुगेको छ । नियमित प्रतियोगिताले खेलाडीलाई अभ्यास गर्ने, क्षमता पहिचान गर्ने र अन्य टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ ।
गाउँगाउँमा फैलिँदै क्रिकेटको लहर
दसैँ, तिहार र छठ पर्वको अवधिमा बझाङका दर्जनभन्दा बढी स्थानमा क्रिकेट प्रतियोगिता आयोजना भएका छन् । पहिले निश्चित स्थानमा मात्र सीमित रहेको क्रिकेट अहिले ग्रामीण बस्तीमा समेत लोकप्रिय बन्दै गएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) बझाङका अध्यक्ष प्रविन्द्र धामीका अनुसार जिल्लाको बुंगल, दुर्गाथली, सुर्मा र जयपृथ्वी नगरपालिकामा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेको एक दशकभन्दा बढी भइसकेको छ । पछिल्लो समय भने जिल्लाका अन्य गाउँमा समेत प्रतियोगिता आयोजना हुन थालेका छन् ।
‘सुरुमा निश्चित ठाउँमा मात्रै हुने क्रिकेट प्रतियोगिता अहिले गाउँगाउँमा पनि हुन थालेका छन् । यसले जिल्लामा क्रिकेटप्रतिको आकर्षण बढेको देखाउँछ,’ उनले भने ।
स्थानीय तह, युवा क्लब तथा विभिन्न अभियानको सहकार्यमा प्रतियोगिता आयोजना हुन थालेपछि ग्रामीण क्षेत्रमा क्रिकेटको पहुँच विस्तार हुँदै गएको छ । खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई प्रतिभा पहिचान गर्ने र युवालाई सकारात्मक गतिविधिमा जोड्ने माध्यमका रूपमा लिन थालिएको अध्यक्ष धामीको भनाइ छ ।
एनपीएलले थप्यो गाउँमा क्रिकेटको उत्साह
नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएपछि बझाङका गाउँमा क्रिकेटप्रतिको आकर्षण थप बढेको छ । एनपीएलको प्रभावसँगै तलकोट गाउँपालिकामा ‘तलकोट प्रिमियर लिग’ सञ्चालन हुन थालेको छ ।
बर्सेनि लाखौँ रुपैयाँ पुरस्कार राखेर आयोजना गरिने उक्त प्रतियोगिता कहिले पालिकास्तरीय त कहिले वडास्तरीय रूपमा सञ्चालन हुँदै आएको छ । स्थानीय तहको खेलकुद शाखाले समेत सहयोग गर्न थालेपछि जिल्लाका विभिन्न पालिकामा क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्रम बढेको हो ।
मष्टा गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख एवं शिक्षा अधिकृत पृथुराज जोशी गाउँमा लुकेर रहेका प्रतिभावान् खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिन प्रतियोगिता आयोजना गरिँदै आएको बताउँछन् ।
‘हाम्रा गाउँमा पनि प्रतिभावान् खेलाडी हुन सक्छन् । उनीहरूले आफ्नो प्रतिभा देखाउनका लागि खेल आयोजना गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ,’ उनले भने ।
उनका अनुसार वडासँगको सहकार्यमा खेलकुद क्षेत्रमा लगानी गर्ने गरिएको छ । स्थानीयस्तरमा प्रतियोगिता हुँदा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनुका साथै समुदायमा खेलप्रतिको रुचि पनि बढ्दै गएको छ ।
एनपीएलमा विभिन्न जिल्लाका खेलाडीले फरकफरक टोलीबाट खेल्ने अवसर पाएपछि ग्रामीण क्षेत्रका युवामा क्रिकेटप्रति थप चासो बढेको छ । राष्ट्रिय तथा व्यावसायिक प्रतियोगितामा स्थानीय खेलाडीको सहभागिताले गाउँका युवालाई पनि क्रिकेटमा भविष्य खोज्न प्रेरित गरेको छ ।
पिठातोला लायन्स किङ कोब्रा टोलीका खेलाडी कपिल जोशीका अनुसार एनपीएलपछि गाउँगाउँमा क्रिकेट प्रतियोगिता आयोजना हुने क्रम बढेको हो ।
‘पहिले हामीलाई क्रिकेटप्रति खासै चासो हुँदैनथ्यो । एनपीएल सुरु भएपछि जताततै खेल हुन थाले । विभिन्न जिल्लाका राम्रा खेलाडीले पनि फरकफरक टोलीबाट खेल्ने अवसर पाए । त्यसपछि गाउँगाउँमा पनि क्रिकेट प्रतियोगिता हुन थाले,’ उनले भने ।
खेलमैदानको अभाव, खेतबारीमै प्रतिभा
क्रिकेटप्रतिको आकर्षण बढ्दै गए पनि बझाङका गाउँमा व्यवस्थित खेलमैदानको अभाव कायमै छ । खेल सञ्चालनका लागि आवश्यक मैदान, पिच तथा अन्य पूर्वाधार नहुँदा खेलाडीले खेतबारी र खुला चौरमै अभ्यास तथा प्रतियोगिता गर्नुपर्ने बाध्यता छ ।
खेलाडी कपिल जोशीका अनुसार जिल्लाका अधिकांश गाउँमा क्रिकेटका लागि पर्याप्त पूर्वाधार छैनन् । सरकारले पनि खेलमैदान निर्माण तथा आवश्यक सुविधाका लागि पर्याप्त लगानी गर्न सकेको छैन ।
‘क्रिकेटका लागि कुनै ठाउँमा पनि व्यवस्थित मैदान छैन । सरकारले पर्याप्त लगानी गरेको छैन । तैपनि गाउँगाउँका प्रतिभा खेतमै देखिन थालेका छन् । यो सुखद पक्ष हो,’ उनले भने ।
बझाङमा परम्परागत रूपमा भलिबल र देउडा सांस्कृतिक तथा खेलकुद गतिविधिका अभिन्न अङ्ग रहँदै आएका छन् । गाउँका मेला, पर्व र उत्सवमा भलिबल प्रतियोगिता तथा देउडा कार्यक्रम आयोजना गर्ने चलन अझै कायम छ ।
तर पछिल्लो समय क्रिकेट र ब्याडमिन्टनजस्ता खेलले पनि ग्रामीण क्षेत्रमा स्थान बनाउन थालेका छन् । यसले गाउँका मेला तथा पर्वलाई थप विविध र आकर्षक बनाएको छ ।
खप्तडछान्ना एकीकृत विकास मञ्चका अध्यक्ष पुष्पराज रोकाया ‘अक्षर खेती’का अनुसार बझाङका विभिन्न स्थानका मेलामा भलिबल र देउडा अनिवार्यजस्तै हुने गरेको छ । अहिले ती कार्यक्रमसँगै क्रिकेट र ब्याडमिन्टन पनि समावेश हुन थालेका छन् ।
‘बझाङका विभिन्न ठाउँका मेलामा भलिबल र देउडा अनिवार्यजस्तै छन् । तर अहिले क्रिकेट र ब्याडमिन्टनले पनि प्रवेश पाएका छन् । विभिन्न खेल आयोजना हुँदा मेला थप रोमाञ्चक बन्न थालेका छन्,’ उनले भने ।
खेलमैदान र पूर्वाधारको अभावका बीच पनि गाउँगाउँमा बढिरहेको क्रिकेटको लोकप्रियताले बझाङमा नयाँ खेल प्रतिभा जन्मिने सम्भावना देखाएको छ । स्थानीय तह, खेलकुद सङ्घसंस्था र सरकारले आवश्यक पूर्वाधार तथा प्रशिक्षणको व्यवस्था गर्न सके ग्रामीण क्षेत्रमा लुकेका प्रतिभालाई जिल्लादेखि राष्ट्रियस्तरसम्म पुर्याउन सकिने अपेक्षा गरिएको छ ।