काठमाडौं– नेपाली कांग्रेसले देउवा समूहले आयोजना गर्न लागेको समानान्तर महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न रुख तथा चारतारे झण्डा प्रयोग गर्न रोक लगाउन निर्वाचन आयोगसमक्ष माग गर्ने तयारी गरेको छ।
१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको अवस्थामा देउवा समूहले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गरेर समानान्तर महाधिवेशन अघि बढाएपछि कांग्रेस आयोग जाने तयारीमा जुटेको हो।
कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराएर देउवा समूहलाई पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गर्न नदिन आयोगसँग माग गर्ने तयारी गरेको एक शीर्ष नेताले बताए।
उनका अनुसार पार्टीको महाधिवेशन सम्पन्न भई नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेकाले एउटै पार्टीको नाममा दुईवटा महाधिवेशन हुन नसक्ने कांग्रेसको दाबी छ।
ती पदाधिकारीले पार्टीको आधिकारिक रुख चिह्न र चारतारे झण्डा प्रयोग गरेर अर्को महाधिवेशन गर्न नमिल्ने भन्दै त्यसविरुद्ध निर्वाचन आयोगमा जाने बताए।
यता, देउवा समूहले भने रुख चिह्न र चारतारे झण्डा प्रयोग गर्दै वडा, पालिका, क्षेत्रीय, जिल्ला हुँदै प्रदेश अधिवेशनहरू सञ्चालन गरिरहेको छ।
देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको छ।